भण्डारीले सहयोगस्वरूप प्रहरी चौकीलाई स्टिल दराज, टेबल र प्रमुख कुर्सी उपलब्ध गराएका हुन्
इलाम– समाजसेवी तथा उद्यमी मुकेश भण्डारीले इलामको नयाँबजार प्रहरी चौकीलाई करिब ५० हजार रुपैयाँ बराबरको फर्निचर हस्तान्तरण गरेका छन् ।
लायन्स क्लब अफ काठमाडौं सम्भलाका उपाध्यक्षसमेत रहेका भण्डारीले सहयोगस्वरूप प्रहरी चौकीलाई स्टिल दराज, टेबल र प्रमुख कुर्सी उपलब्ध गराएका हुन् ।
भण्डारीले प्रहरी बलियो र सक्षम हुनु समाजकै सुरक्षाका लागि अपरिहार्य रहेको बताए । उनका अनुसार समाज सुरक्षित राख्न प्रहरी बलियो हुनु जरुरी छ । प्रशासन कमजोर हुँदा समाज सुरक्षित रहन सक्दैन ।
‘जेन जेड आन्दोलनको समयमा एक दिनमात्र प्रहरीले काम रोक्दा समाज कस्तो अस्तव्यस्त भयो भन्ने कुरा हामी सबैले देखिसकेका छौं । नागरिक आफैं पनि प्रहरी हो, त्यसैले सहयोग गर्नु हाम्रो दायित्व हो,’ उनले भने ।
यसअघि पनि भण्डारीले जन्मथलो नयाँबजारमा गणेशको २१ फिट अग्लो प्रतिमा आफ्नै खर्चमा निर्माण गराएका थिए । उनले चाँडै नै बालागुरु संस्कृत गुरुकुल विद्यालयलाई एक थान स्कुटर उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।
फर्निचर पाउँदा प्रहरी चौकी र स्थानीय अगुवाले खुसी व्यक्त गरे । भण्डारीको योगदानले प्रहरी–समुदाय सम्बन्ध अझ प्रगाढ भएको प्रतिक्रिया दिएका छन् उनीहरूले । भण्डारी काठमाडौँमा बसोबास गर्छन् ।
Link : News Link